राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गलत व्यक्तिलाई भोट नदिन आग्रह गरेका छन् । आज बुधबार सिरहाको मिर्चैयामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चुनावको बेलामा कसैले पैसा दिन्छ भने लिँदा केही नहुने तर गलत मान्छेलाई भोट हाल्दा भने पाप लाग्ने बताएका हुन् ।
उनले भने, ‘पैसामा आफ्नो भविष्य नबेच्नु होला। कसैले दिएछ भने लिए हुन्छ, किनकि हाम्रो चोरेको पैसा हो । आफ्नै पैसा चोरेर हामीलाई बाँड्छ भने लिँदा पाप लाग्दैन तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ ।’

लामिछानेले समाजलाई जात र धर्मका नाममा विभाजन गर्न खोज्नेलाई भोट नदिन आग्रह पनि गरे । ‘जात आफ्नो छ, धर्म आफ्नो छ, सभ्यता, संस्कृति सबै आफ्नो छ। राजनीति अब्बल मान्छेले चलाउने कुरा हो,’ उनले भने,’अब धेरै दिन बाँकी छैन, अब थोरै दिन बाँकी छ, इतिहासल बदल्न। देश र मधेसले नयाँ इतिहास लेख्दै छ ।’













