नेकपा (एमाले) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले आफ्नो पार्टीको झण्डा जलाएको भन्दै आपत्ति जनाएको छ।
गएराति दाङको तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएको भन्दै पार्टीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भर्त्सना गरेको हो।

एमाले निर्वाचन परिचालन कमिटीका प्रेस संयोजक मीनबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा रास्वपाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दहरूका साथ नाराबाजी गर्दै महासचिव शंकर पोखरेलको गृह नगरमा अराजक शैली प्रदर्शन गरेको उल्लेख छ। एमालेले यस घटनालाई राज्य, जनता, लोकतन्त्र र संविधानविरुद्धको अपराधजन्य कार्यको संज्ञा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘लाखौं जनतामा लोकप्रिय हाम्रो पार्टीको आस्थामा चोट पुर्याउने गरी झण्डामा आगो लगाउनेहरू उनै देश जलाउनेहरू हुन् भन्ने यो घटनाले पुष्टि गरेको छ।’













