सिन्धुपाल्चोक । क्षेत्र नम्बर १ को चुनावी मैदानमा नयाँ तरंग देखिएको छ। विभिन्न पुराना दल परित्याग गर्दै करिब ६ सय नेता तथा कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपामा आबद्ध नेता–कार्यकर्ताहरूले संयुक्त रूपमा पार्टी त्यागेको घोषणा गर्दै रास्वपाको ‘घण्टी’ रोजेका हुन्। रास्वपा सिन्धुपाल्चोकका सचिव चक्रपाणी सिग्देलका अनुसार प्रवेश गर्नेहरूमा काँग्रेसकी महिला नेतृ लिला नेपाल, एमाले नेता जेपी सिल्वाल, नेकपा नेता चिनलाल श्रेष्ठ लगायतका नाम उल्लेखनीय छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा रास्वपा उपसभापति डिपी अर्याल ले वर्तमान चुनावलाई “देश बनाउने र बन्न नदिने शक्तिबीचको निर्णायक प्रतिस्पर्धा” को रूपमा चित्रण गरे। उनले उपस्थित कार्यकर्तालाई आफ्नो मोबाइल सम्पर्क सूचीमा रहेका सबैलाई फोन वा सन्देशमार्फत घण्टी चिन्हका उम्मेदवारलाई समर्थन गर्न आग्रह गरे।
यसैगरी, रास्वपाका समानुपातिक उम्मेदवार प्रमोद न्यौपाने ले पार्टीका सबै सदस्य र समर्थकले आफू नै उम्मेदवार भएको भावनासहित मैदानमा खटिनुपर्ने बताउँदै देशभर दुई तिहाइ बहुमतका साथ जित सुनिश्चित गर्ने लक्ष्य दोहोर्याए।
कार्यक्रममा वक्ताहरूले परम्परागत राजनीतिक अभ्यासप्रति जनताको असन्तुष्टि बढ्दै गएको दाबी गरे। सुशासन, पारदर्शिता र जवाफदेहिताको मागसँगै नयाँ पुस्ता र परिवर्तन चाहने मतदाता रास्वपातर्फ आकर्षित भइरहेको उनीहरूको भनाइ थियो।
रास्वपा सिन्धुपाल्चोक–१ का उम्मेदवार भरत पराजुली ले स्थानीय वाचापत्र सार्वजनिक गर्दै मतदाताको मनमा आफ्नो जित सुनिश्चित भइसकेको दाबी गरे। “अब फागुन २१ मा मत खसाल्न मात्रै बाँकी छ,” उनले भने। साथै, उनले समर्थकहरूलाई कुनै दबाब वा प्रभावमा नडराई खुलेर मतदान गर्न आग्रह गरे। यदि कसैले धाकधम्की दिएको खण्डमा त्यसको प्रतिकारका लागि पार्टी तयार रहेको उनले बताए।
रास्वपा सम्बद्ध नेताहरूले यो प्रवेशलाई केवल सदस्यता विस्तार नभई ‘वैकल्पिक राजनीतिक शक्तिको सुदृढीकरण’ का रूपमा व्याख्या गरेका छन्। उनीहरूको दाबी छ—देशमा राजनीतिक ध्रुवीकरणको नयाँ चरण सुरु भइसकेको छ, जहाँ पुराना समीकरण चुनौतीमा परेका छन् र नयाँ शक्तिहरूले आफ्नो उपस्थितिलाई निर्णायक बनाउने प्रयास गरिरहेका छन्।













