सिन्धुपाल्चोक । तुलनात्मक रूपमा पार्टी संगठन कमजोर रहेको बाह्रविसे क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बलियो हस्तक्षेप गर्दै शक्ति प्रदर्शन गरेको छ । नेकपाले आज बाह्रविसेमा आयोजित बृहत् युवा भेलामार्फत बाह्रविसे खोलामा पनि आफू बलियो रहेको सन्देश दिएको हो ।
कांग्रेस नेता मोहन बस्नेतको प्रभाव क्षेत्रका रूपमा चिनिएको बाह्रविसेमा एकै कार्यक्रममा ३२३ जना नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । भोटेकोशी, बाह्रविसे, लिसंखुपाखर, बलेफी र जुगलका अधिकांश युवा पुस्तालाई उम्मेदवार माधव सापकोटा ‘सुबोध’ले खादा लगाएर स्वागत गरेका थिए । नेपाली कांग्रेस र नेकपा (एमाले)मा चिनिएका प्रभावशाली व्यक्तित्वहरू नेकपामा प्रवेश गरेपछि यो क्षेत्रमा राजनीतिक तरंग सिर्जना भएको छ ।

सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट नेकपाको प्रत्यक्ष तर्फका उम्मेदवार सुबोधले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरे । सम्बोधनका क्रममा उनले युवाहरूलाई प्रतिस्पर्धी दलहरूप्रति संयमित रहन निर्देशन दिए । सापकोटाले क्षेत्र नं. १ मा जित सुनिश्चित भइसकेकोले त्यसलाई जोगाउन प्रतिस्पर्धी दलप्रति सहिष्णु बन्न सुझाव दिएका हुन् ।
चुनाव परिचालन कमिटीका संयोजक केशव नेपालले उम्मेदवार तथा प्रतिबद्धताका हिसाबले सुबोध उत्कृष्ट रहेको बताए । युवा नेता सरल सहयात्रीले नेकपाले युवा, सक्षम र काम गरेर प्रमाणित भएका नेता माधव सापकोटालाई जिताउन तारा चिन्हमा मत हाल्न आग्रह गरे ।
संविधानसभा सदस्य राजकुमार श्रेष्ठले पुर्याएर तारा चिन्हमा मतदान गर्न आह्वान गरे । केही समय अघि नेकपा प्रवेश गरेका बाह्रविसेका पूर्व मेयर तथा नेकपा केन्द्रीय सदस्य निमफुन्जो शेर्पाले आफूलाई एमालेमा अपमानित गरिएको भन्दै पार्टी छोडेर नेकपा रोजेको स्पष्ट पारे । उनले एमालेले कहिल्यै जनताको भलो नगर्ने बताए ।
कार्यक्रममा समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, युवा नेतृ अमृता नेपाल, युवा नेतृ क्रान्ति योन्जनलगायतले क्षेत्र नं. १ मा नेकपाको जित सुनिश्चित भएको बताएका थिए । कार्यक्रम अघि नेकपाका युवाले बाहर्बिसे बजारमा मार्च पास गरेको थियो ।













