नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई पाँच वर्षभित्र डिजिटल हब बनाउने गरी विभिन्न योजना अघि सारेका छन्।सोमबार भिडिओ सन्देश जारी गर्दै सभापति थापाले सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्दै पाँच वर्षभित्र नेपाललाई डिजिटल हब बनाउने लक्ष्यसहित चार प्रमुख योजना सार्वजनिक गरेका छन्।
उनले आफूले यसअघि कीर्तिपुरको डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको तीन/चार लाख कमाउन सकिने कुरालाई उडाइए पनि त्यो हावादारी नभएको पुनः दाबी गरेका छन्।

‘केही समयअघि कीर्तिपुरको एउटा राजनीतिक सभामा मैले त्यही डाँडामा बसेर ल्यापटप चलाउँदै महिनाको ३–४ लाख रुपैयाँ कमाउन सकिन्छ भनेको थिएँ। त्यो कुरा हाँसोको विषय पनि बन्यो, धेरै ट्रोल पनि भए। तर मैले हावादारी कुरा गरेको थिइनँ। त्यो कुनै उडन्ते सपना पनि थिएन। त्यो गर्न सकिन्छ भन्ने मेरो विश्वास थियो, किनकि मसँग केही स्पष्ट योजनाहरू थिए,’।
केही सुधारका कामहरू अघिल्ला सरकारले पनि गरेको सभापति थापाले बताए। अध्यादेशमार्फत गरिएका सुधारहरूले केही सकारात्मक परिणाम देखाए पनि पर्याप्त नभएको सभापति थापाले बताएका छन्।
सुधारहरूलाई गम्भीरतापूर्वक र प्रतिबद्ध भएर लागु गर्न सके पाँच वर्षभित्र उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने थापाले बताए।
सभापति थापाले आफ्नो रोडम्यापमा निम्न बुँदाहरूलाई प्राथमिकता दिएका छन्:-
१. नीतिगत र कानुनी सुधार: ६० वर्ष पुरानो लगानी सम्बन्धी कानुन संशोधन गरेर नेपाली आईटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न र विस्तार हुन दिने व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिएका छन् । साथै, वैदेशिक प्रत्यक्ष लगानीको सीमा हटाएर स्वचालित प्रक्रियाबाट लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने उनले बताए ।
२. मानव संशाधन र सीप विकास: वार्षिक १५ हजार आईटी स्नातक उत्पादन हुने भए पनि बजारको माग र शैक्षिक सीपबीच तालमेल नभएको उनको तर्क छ । यसका लागि ‘स्टेम’ शिक्षामा लगानी बढाउने र ‘एआई’ तयार जनशक्ति निर्माण गर्ने योजना उनले अघि सारेका छन् ।
३. फ्रीलान्सिङबाट डिजिटल प्रोडक्टतर्फ: नेपाल अहिले फ्रीलान्सिङ र बीपीओ सेवामा मात्र केन्द्रित रहेको बताउँदै थापाले अब आफ्नै ‘डिजिटल प्रोडक्ट’हरू बनाउनुपर्ने र त्यसलाई निर्यात गर्नुपर्नेमा जोड दिए । सरकारले पनि स्वदेशमा बनेका सफ्टवेयर र प्रविधि प्रयोग गरी नेपाली कम्पनीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
४. ग्रीन डेटा सेन्टर र प्रविधि: नेपालको जलविद्युतलाई उपयोग गर्दै ‘ग्रीन डेटा सेन्टर’ निर्माण गर्न सकिने र एआई, क्लाउड कम्प्युटिङ जस्ता ऊर्जा सघन सेवाहरूको केन्द्र नेपाललाई बनाउन सकिने उनले उल्लेख गरे ।
५. गिग वर्करको सुरक्षा: प्रविधिको क्षेत्रमा काम गर्ने करिब २ लाख भन्दा बढी ‘गिग वर्कर’हरूको कानुनी सुरक्षा र उनीहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन श्रम ऐनमा सुधार गरिने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
सभापति थापाले आईटी पार्क र डेटा सेन्टरका नाममा भवन मात्र बनाउने पुरानो प्रवृत्तिलाई आलोचना गर्दै भारतको ‘सफ्टवेयर टेक्नोलोजी पार्क अफ इन्डिया’ जस्तै पूर्ण डिजिटल इकोसिस्टम निर्माण गर्नुपर्ने धारणा राखे। जहाँ मेन्टरसिप, सिड फन्डिङ र एकल विन्दु सेवा केन्द्र उपलब्ध होस् । ‘हामीले धेरै पटक भाषण गर्यौँ, अब काम गर्ने बेला आएको छ,’ थापाले भने, ‘आगामी ५ वर्ष समय खेर नफाली नेपाललाई डिजिटल हब बनाउन हामी प्रतिबद्ध छौँ ।’













