सिन्धुपाल्चोक – माधव सापकोटा ‘सुबोध’ले प्रतिनिधिसभा निर्वाचन अभियानलाई आफ्नै गृहपालिका बलेफीबाट तीव्र बनाएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सापकोटाले वडा नं. २, ३, ४ र ५ का विभिन्न टोलहरूमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन गरे।
तल्लो बिञ्ज्याल, मुलाबारी, नेपालीटोल, माथिल्लो बिञ्ज्याल, डाँडागाउँ, करङगैरा, देउराली, चिलाउने, च्यानडाँडा, जिराती, ब्याङ्चे, फुल्पिङ्कोट, कल्लेरी र पौडेलगाउँ लगायतका बस्तीमा पुगेर उनले प्रत्यक्ष संवाद गरे। तल्लो बिञ्ज्याल र धुस्कोटको ब्याङ्चे क्षेत्रमा कोण सभासहित भव्य कार्यक्रम सम्पन्न भएको थियो।

सम्बोधनका क्रममा सापकोटाले आफ्नो ३३ महिनाको कार्यकालमा भएका उपलब्धि र अधुरा योजनाबारे जानकारी दिँदै पूर्ण कार्यकालका लागि समर्थन मागे। धुस्कोट जस्ता तामाङ बाहुल्य बस्तीमा परम्परागत ‘स्यालगार’मार्फत स्थानीयले उत्साहजनक स्वागत गरेका थिए।
यसबीच, एमाले र कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेका नरबहादुर तामाङ (नरे), सर्की तामाङ, हिरालाल तामाङ, निमेश तामाङ, रामकाजी तामाङ, राजेन्द्र योन्जन, जयबहादुर तामाङ लगायतलाई सापकोटाले स्वागत गरे। अन्य नेताहरूको सक्रिय उपस्थितिमा सम्पन्न अभियानले क्षेत्र नं. १ मा नेकपाको पक्षमा बढ्दो जनलहर देखिएको दाबी गरिएको छ।














