प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको भएको बताएकी छन्।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औं स्थापना दिवसको अवसरमा बुधबार प्रधानमन्त्री कार्कीले देशमा भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुन, नीतिगत व्यवस्था भएको बताइन्।
तर पनि भ्रष्टाचार निवारणको माग राखेर भदौ २३ र २४ गतेको जेनजी आन्दोलन भएको र नियन्त्रणका लागि प्रमुख जिम्मेवारी सरकार र कार्यकारीको भएको उनको भनाइ छ।

‘भ्रष्टाचार नियन्त्रणका लागि हामीकहाँ पर्याप्त संरचना छन्। पर्याप्त कानुनी र नीतिगत व्यवस्था पनि छन्। तर पनि किन हामीकहाँ भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण हुन सकिरहेको छैन? किन भ्रष्टाचार निवारणकै माग राखी जेनजी युवाले गत भदौ २३ र २४ गते सडकमा आन्दोलन गर्नुपर्यो?,’ उनले भनिन्, ‘यी प्रश्नमा विचार गर्दा, हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अंगको नै हो।’
उनले प्रत्येक निकायका कार्यालय प्रमुखले नै संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी लिनुपर्ने बताइन्।












