सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार भरत प्रसाद पराजुली अहिले गाउँबस्ती केन्द्रित घरदैलो अभियानमा सक्रिय छन्। मत माग्दै गाउँ–गाउँ पुगिरहेका पराजुली गाउँको चुनावी माहोल देखेर उत्साहित देखिएका छन् भने स्थानीयवासी पनि उम्मेदवारका रूपमा पराजुलीलाई पाउँदा खुसी व्यक्त गरिरहेका छन्।
घरदैलो अभियानअन्तर्गत आफ्नै गृहपालिका बलेफी गाउँपालिका का विभिन्न बस्तीमा पुगिरहेका पराजुलीलाई स्थानीयले मत दिने प्रतिबद्धता जनाएका छन्। आइतबार बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ मा पुगेका पराजुलीलाई स्थानीयवासीले भव्य स्वागत गरेका थिए।

मत माग्ने क्रममा स्थानीयले विशेषगरी सडक पूर्वाधार विकास लाई प्राथमिक मागका रूपमा अघि सारेका छन्। यस अवसरमा उम्मेदवार पराजुलीले जनताका मागप्रति आफू गम्भीर रहेको बताउँदै क्षेत्रको समग्र विकासमा प्रतिबद्धता जनाएका छन्।
घरदैलो अभियानका क्रममा पराजुलीले भने,
“जनताले भोगिरहेको मुख्य समस्या सडक र पूर्वाधारसँग जोडिएको छ। यी समस्यालाई समाधान गर्नु नै मेरो पहिलो प्राथमिकता हो। म संसदमा पुगेर यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक आवाज उठाउनेछु।”
यसक्रममा पराजुलीले वडा नम्बर ७ का चिम्लिङबेशी, पुरानागाउँ, चिम्लिङ, पहरिगाउँ र टोप्का का प्रत्येक घरधुरीमा पुगेर स्थानीयसँग प्रत्यक्ष संवाद गरेका थिए। उनले विकासका विषयमा आफ्ना योजना सुनाउँदै क्षेत्रको समग्र विकासमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।













