सिन्धुपाल्चोक । नेपाली कांग्रेसका निर्वाचित जिल्ला कार्यसमिति सदस्य तथा बाह्रबिसे नगरपालिका–९ का पूर्व वडा अध्यक्ष सानु तामाङले प्रतिनिधिसभा निर्वाचनका लागि दिएको स्वतन्त्र उम्मेदवारी निस्क्रिय बनाउँदै कांग्रेस उम्मेदवार जंगबहादुर लामालाई समर्थन गर्ने घोषणा गरेका छन्।
टिकट वितरण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै सुरुमा स्वतन्त्र उम्मेदवारी दिएका तामाङले पार्टीभित्रको विवादले संगठन कमजोर हुने निष्कर्षसहित चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णय लिएको बताएका छन्। उम्मेदवारी विधिवत् फिर्ता लिन नसके पनि अब कुनै पनि चुनावी गतिविधिमा संलग्न नहुने उनले स्पष्ट पारेका छन्।

तामाङले मतदातालाई आफ्नो चुनाव चिन्ह कंगारूमा मत नहाल्न आग्रह गर्दै कांग्रेसका आधिकारिक उम्मेदवार लामालाई मत दिन अपिल गरेका छन्। पार्टी नेतृत्वको सल्लाहमा उम्मेदवारी निस्क्रिय बनाइएको जनाउँदै उनले हालको प्राथमिकता कांग्रेसलाई जिताउने र संगठन थप मजबुत बनाउने रहेको बताएका छन्।















