नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ को निर्वाचनमा नेकपा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ । बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो ।
बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत वा कुनै पनि खालको चुनावी तालमेल गर्ने विषयमा एमालेका अध्यक्ष केपी ओलीसँग छलफल नभएको प्रस्ट पारेका थिए । पछिल्लो समय देशभर नेकपाको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएकाले निष्पक्ष र धाँधलीरहित चुनाव भएमा नेकपा एक नम्बरको पार्टी बन्ने दाबीसहितको ब्रिफिङ प्रचण्डले गरेका हुन् ।

‘देशभर हाम्रो पार्टीको पक्षमा चुनावी माहोल राम्रो बन्दै गएको छ । सबै जनाले अझ मेहनत गरेको खण्डमा एक नम्बरको पार्टी बन्छ । अहिले एमाले वा कांग्रेस कुनै पार्टीसँग चुनावी तालमेलबारे कुराकानी भएको छैन’, प्रचण्डको भनाइ उदृद्ध गर्दै नेता राजेन्द्र श्रेष्ठले भने ।
पहिला देउवाले मिलेर जाउँभन्दा ओलीले आफ्नो पार्टीलाई होच्याएर ओलीले कांग्रेस र एमालेबिच मात्र चुनावी तालमेलको प्रस्ताव ओलीले गरेको श्रेष्ठले आरोप लगाए । अहिले स्थिति प्रतिकुल देखिएपछि एमालेले सहकार्यको प्रस्ताव गरेको उनको जिकिर छ ।






