पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपंक्षीको प्रजाति र सङ्ख्या घट्दो देखिन्छ । गत वर्ष सन् २०२५ को जलपंक्षी गणनाबाट प्राप्त तथ्याङ्कअनुसार नेपालमा ९४ प्रजातिका ९६ हजार ५६५ जलपंछी अभिलेखिकरण भएको थियो । सन् २०२६ को गणनाबाट ८९ प्रजातिका ९० हजार ६८८ वटा जलपंक्षी अभिलेख भएका छन् । त्यस भन्दा पनि अघिका गणनामा एक लाख बढी नै प्रजाति अभिलेख भएका थिए ।
वाटरल्याण्ड इन्टरनेशनलको सहकार्यमा भारतीय महाद्विपमा एसियास्तरीय जलपंक्षी गणना सन् १९८७ देखि सुरु गरिएको हो । गणनालाई सहयोग पुर्याउन नेपालले सन् १९८७ देखि जलपंक्षी गणनामा निरन्तर सहभागिता जनाउँदै आएको छ ।

अत्यधिक चिसो हुने रुस, उत्तरी चीन, मङ्गोलिया, साइबेरियालगायतका क्षेत्रबाट जलपंक्षी यस याममा अनुकूल तापक्रमको खोजीमा नेपाल आउने गर्छन् । चिसो क्षेत्रबाट हजारौँको सङ्ख्यामा चरा जाडो छल्न अनुकूल वातावरण र प्रचुर मात्रामा खानेकुराको खोजीमा भारतको राजस्थानसम्म पुग्ने गर्छन् । फर्किँदा भने पाकिस्तान, अफगानिस्तानको बाटो प्रयोग गर्छन् ।
जलपंक्षी गणनाको मुख्य उद्देश्य बसाइँ सराई गर्ने र पानीमा बस्ने चराको प्रजनन् नहुने समयमा गणना तथा अनुगमन गरी सङ्ख्यासहित सिमसार क्षेत्रको अवस्थाबारे थाहा पाउनु, पानीमा बस्ने चरा र सिमसार क्षेत्रको महत्व, तिनको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी तथा जानकारी गराउनु रहेको छ ।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्व तथा नेपाल पंक्षीविद् सङ्घको संयोजनमा देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा साना क्षेत्रमा जलपंक्षी गणना गरिएको नेपाल पंक्षीविद् सङ्घका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए।
गणनामा ४११ स्वयंसेवक गणक (कर्मचारी, चराविद, प्रकृतिप्रेमी, स्वयंसेवी, नागरिक वैज्ञानिक)बाट पानीमा आश्रित तथा पानी वरिपरि बस्ने आवासीय र बसाइँसराइ गर्ने चराको तथ्याङ्क सङ्कलन गरी विश्व सिमसार दिवस (२ फेब्रुअरी)मा सार्वजनिक गरिएको थियो ।
सिमसार अतिक्रमणले जलपंक्षीको आहारामा कमी
कार्यकारी निर्देशक पौडेलले भने, “जलपंक्षीको सङ्ख्या विश्वमै कम देखिएको छ, नेपालमा पनि सिमसार क्षेत्रमा मानवीय गतिविधि बढेको, पूर्वाधार निर्माण बढेको, मिचाहा प्रजातिले ताल ढाकेको, कृषिमा रसायनिक मल र विषादीको प्रयोग बढेका कारण पनि जलपंक्षी यहाँ कम समय व्यतित गर्ने गरेका हुन सक्छन् ।”
विगतका वर्षमाझैँ यस वर्ष पनि कोशीटप्पु वन्यजन्तु आरक्ष र यस वरीपरी, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज र सो वरपर, धनुषाधामका तालतलैया र कमला नदी, हेटौँडा, काठमाडौँ उपत्यका, पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, बिसहजारी ताल, घोडाघोडी ताल, रारा ताल, जगदीशपुर रिजभ्र्वायरलगायतका क्षेत्रमा जलपंक्षी गणना गरिएको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो । जलपंक्षी गणनामा विभिन्न राष्ट्रिय निकुञ्ज/वन्यजन्तु आरक्ष/संरक्षण क्षेत्र कार्यालय, डिभिजन वन कार्यालय तथा सङ्घ संस्थाको सक्रिय सहभागिता थियो ।
निकुञ्ज विभागका सूचना अधिकारी हरिभद्र आचार्यले नदीनाला, तालतलैया र सिमसार क्षेत्रमा बढ्दो मानवीय गतिविधि तथा बढ्दो विषादी प्रयोगका कारण जलपंक्षीको आहारमा कमी आएको बताए । “सुरक्षित बासस्थान र आहाराको खोजी जलपंक्षीले नयाँ स्थान खोज्ने गरेको हुन सक्छ” उनले भने ।
वरिष्ठ इकोलोजिष्ट आचार्यका अनुसार नेपालमा पछिल्लोपटक मानवीय गतिविधिको अतिक्रमण र जलवायु परिवर्तनका असरले सिमसार क्षेत्रको क्षेत्रफल र गुणस्तर घट्दै गइरहेको छ । सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो ।
सिमसार क्षेत्रमा अव्यवस्थित रूपमा गरिने विकास निर्माणका पूर्वाधार, सिमसार क्षेत्र नजिक बढ्दो जनसङ्ख्या, बढ्दो प्रदुषण, फोहरमैला सोझै नदी र सिमसार क्षेत्रमा विसर्जन गर्ने प्रवृत्तिलगायत चुनौती थपिएको छ । यसले जलपंक्षीको बासस्थानको विनाश हुने गरेको पंक्षी संरक्षणकर्मी हिरुलाल डगौराले बताए । “कृषि बालीनाली अत्यधिक रसायनिक मल र विषादीको प्रयोग तथा माछा मार्न हुने विषादीको प्रयोगले जलपंक्षीका आहार कमी आएको छ । आहाराको खोजीमा जलपक्षी अन्यत्र जान सक्छन्,।






