उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् । पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा कुरा गर्दै उनले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गरेका हुन् ।
देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे । उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे ।

उनले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताए । उनले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उनको भनाइ छ ।
नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको जानकारी दिए । अध्यक्ष घिसिङका अनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन् । उनले यी दुबै पार्टीहरू भाषण गरेर नभई समाजमा काम गरेर आएको पार्टी भएको बताए । उनले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औंल्याए । भाषण गरेर देशमा रुपान्तरण नहुने उनको भनाइ छ ।






