सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का उम्मेदवार भरतप्रसाद पराजुलीले आफ्नो चुनावी प्रचारप्रसार तथा घरदैलो कार्यक्रम औपचारिक रूपमा सुरु गर्नुभएको छ।
पराजुलीले त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी माई मन्दिरको दर्शन तथा पूजा-अर्चना गरी चुनावी अभियानको थालनी गर्नुभएको हो। मन्दिर दर्शनपश्चात् उहाँले त्यस क्षेत्रका मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या र गुनासोहरू सुन्नुभएको थियो।

अभियानका क्रममा पराजुलीले गाउँपालिकाको वडा नम्बर ६ स्थित टेकानपुर, तौथली र जलजले लगायतका स्थानका स्थानीय बासिन्दाहरूसँग साक्षत्कार गर्नुभयो। स्थानीयका समस्या सुन्दै उहाँले भन्नुभयो:
“म तपाईंहरूको नितान्त सेवक बन्न चुनावी मैदानमा होमिएको हुँ। यसपटक हाम्रो नयाँ पार्टीलाई विश्वास गरिदिनुहुनेछ भन्नेमा म पूर्ण रूपमा आशावादी छु।”
भेटघाटका क्रममा अधिकांश स्थानीय बासिन्दाहरूले पुराना राजनीतिक दलहरूबाट ठोस परिवर्तन हुन नसकेको गुनासो पोखेका थिए। “धेरै पुराना दलहरूलाई हेरियो, तर गरिब-दुःखीको अवस्था कहिल्यै फेरिएन,” एक स्थानीयले भने, “यसपटक तपाईंहरूलाई मौका दिनेछौँ। तपाईंहरूको काम र परिणामले नै हाम्रो भविष्यको बाटो तय गर्नेछ।”
उक्त घरदैलो कार्यक्रममा पराजुलीसँगै रास्वपाकी सिन्धुपाल्चोक समानुपातिक उम्मेदवार मिरा महर्जन लगायत अन्य नेता-कार्यकर्ताहरूको समेत सहभागिता रहेको थियो।













