स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का कार्यसमिति सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सिन्धुपाल्चोक–१ का प्रतिनिधिसभा उमेदवार भरत पराजुलीले ऊर्जा क्षेत्रका समस्या र समाधानलाई संसद्मा सशक्त रूपमा उठान गर्न आफू संसदीय निर्वाचनमा होमिएको बताएका छन्।
मंगलबार इप्पानले आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै पराजुलीले नेपालको समृद्धिको प्रमुख आधारका रूपमा हेरिएको ऊर्जा क्षेत्र विभिन्न नीतिगत, प्रशासनिक र राजनीतिक अवरोधका कारण अपेक्षित रूपमा अघि बढ्न नसकेको बताए। ऊर्जा क्षेत्रमाथि भइरहेको आक्रमण र अव्यवस्थाका कारण यसको विशाल सम्भावना सम्भावनामै सीमित हुने खतरा बढेकाले यसबारे संसद्मै गम्भीर बहस आवश्यक रहेको उनको भनाइ थियो।

उनले विगतमा ठूला १३ वटा उद्योगको विद्युत् लाइन काटिँदा करिब ४० हजार श्रमिकको रोजगारी प्रभावित हुनुका साथै ५०० मेगावाट विद्युत् खपत हुन नसकेको उदाहरण प्रस्तुत गरे। अब १३ वटा मात्र होइन, लाखौँ उद्योग सञ्चालन हुने वातावरण सिर्जना गरी स्वदेशमै व्यापक रोजगारी उपलब्ध गराउन राजनीतिमा सक्रिय भएको उनले बताए। दलभित्र देखिएका कमजोरी र विकृतिलाई बाहिरबाट आलोचना मात्र गरेर नहुने भन्दै सुधारका लागि आफू प्रत्यक्ष मैदानमा उत्रिएको उनको धारणा थियो।
कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले ऊर्जा क्षेत्र बुझेका व्यक्तिहरू संसद्मा पुग्न आवश्यक रहेको बताउँदै पराजुलीको उमेदवारीलाई नैतिक समर्थन रहेको उल्लेख गरे। त्यस्तै, वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी र महासचिव बलराम खतिवडाले पनि ऊर्जा क्षेत्रका जानकार व्यक्तिहरूलाई निर्वाचनमा सहयोग र समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरे।













