सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवारहरूले विशेष तयारी गरेका छन्। पार्टीभित्रको सुदृढ एकता र राष्ट्रियताको सन्देश प्रवाह गर्न उम्मेदवारहरूले एकै प्रकारको परम्परागत नेपाली पोशाक लगाएर मनोनयन दर्ता गर्ने भएका हुन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह-संयोजक रहेको नेकपाले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूलाई मौलिक पहिचानसहित चुनावी मैदानमा उतार्ने निर्णय गरेको छ।

क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा ‘सुबोध’, क्षेत्र नम्बर २ बाट युवराज दुलाल ‘शरद’, तथा समानुपातिकतर्फका उम्मेदवार भगवती नेपाल र लालकान्छा तामाङले दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्ता गर्ने छन्।
मनोनयन दर्ताका क्रममा उम्मेदवारहरू गलामा मखमली फूलको माला, हातमा नेपालको राष्ट्रिय झण्डा र पार्टीको लालझण्डा बोकेर सहभागी हुनेछन्। उनीहरूले सामूहिक तस्बिर खिचाउँदै आफूहरू केवल राजनीतिक प्रतिनिधित्व मात्र नभई नेपाली सभ्यता र संस्कृतिको पनि संवाहक भएको सन्देश दिएका छन्।
सिन्धुपाल्चोकका यी उम्मेदवारहरूको यो शैलीले स्थानीय स्तरमा निकै चर्चा पाएको छ, जसले चुनावी प्रचारप्रसारलाई थप रोचक बनाएको छ।






