काठमाडौँ । निर्वाचन आयोगका प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी मनोनयनका क्रममा बाजागाजा तथा तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग आयोगमा कुरा गर्दै उनले बाजागाजा र प्रदर्शनलाई कानून र निर्वाचन आचारसंहिताले पूर्ण रूपमा निषेध गरेको उल्लेख गरे। आचारसंहिता उल्लंघन गर्ने जो–कोहीविरुद्ध आयोगले कठोर निर्णय लिने चेतावनी पनि उनले दिए।

प्रमुख कार्यवाहक आयुक्त भण्डारीले आचारसंहिताको निष्ठापूर्वक पालना गर्दै शान्त र मर्यादित रूपमा मनोनयन पत्र दाखिल गर्न आग्रह गरे। साथै उनले आगामी निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने दाबी गर्दै निर्वाचन नहुने आशंका नगर्न समेत आग्रह गरे।













