काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाएको छ। आइतबार बिहान पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्र नम्बर १ मा माधव सापकोटा ‘सुबोध’ र क्षेत्र नम्बर २ मा युवराज दुलाल ‘शरद’ लाई आधिकारिक टिकट हस्तान्तरण गर्नुभएको हो।
चौतारा साँगाचोकगढी निवासी युवराज दुलाल (शरद) सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभाका लागि मैदानमा उत्रिने हुनुभएको छ। उहाँ सोही क्षेत्रबाट दुई पटक प्रदेश सभा सदस्यमा निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ।

२०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट विजयी दुलालले बागमती प्रदेश सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हालिसक्नुभएको छ।यस क्षेत्रमा अघिल्लो पटक कांग्रेसका मोहन बहादुर बस्नेत विजयी भएका थिए। तर, बस्नेतको कार्यशैली र विकासमा सुस्तता आएको भन्दै आलोचना भइरहेका बेला नेकपाले दुलाललाई अघि सारेको हो।
क्षेत्र नम्बर १ मा भने नेकपाले निवर्तमान सांसद माधव सापकोटा ‘सुबोध’ लाई नै पुनः विश्वास गरेको छ। ‘जेनजी’ आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र प्रतिनिधि सभा विघटन अघिसम्म उहाँ सोही क्षेत्रको प्रतिनिधित्व गरिरहनुभएको थियो।
सिन्धुपाल्चोकका दुवै क्षेत्रमा नेकपा र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।क्षेत्र नं. २ मा नेकपाका युवराज दुलाल विरुद्ध एमालेका शेरबहादुर तामाङ मैदानमा हुनुहुन्छ। तामाङ अघिल्लो निर्वाचनमा मोहन बस्नेतसँग पराजित हुनुभएको थियो। क्षेत्र नं. १ मा नेकपाका सुबोध विरुद्ध एमालेका आङदोर्जे शेर्पाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ।
निर्वाचन आयोगका अनुसार आगामी माघ ६ गते मनोनयन दर्ताको कार्यक्रम रहेको छ भने मतदान फागुन २१ गते हुनेछ।













