काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा युवा नेता माधव सापकोटा ‘सुबोध’लाई पुनः उम्मेदवार बनाउने निर्णय गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार बिहान सापकोटालाई आधिकारिक टिकट हस्तान्तरण गर्नुभएको हो।
निवर्तमान सांसद सापकोटालाई पार्टीले एकल सिफारिसका आधारमा पुनः सोही क्षेत्रको जिम्मेवारी सुम्पिएको हो।

यसअघि २०७९ मंसिरमा भएको निर्वाचनमा सापकोटाले एमालेका हेभिवेट उम्मेदवार सरेश नेपाललाई पराजित गरेका थिए। त्यसबेला सापकोटाले ३०,३७४ मत प्राप्त गरेका थिए भने एमालेका नेपालले २७,०१८ मत ल्याएका थिए। करिब ३ हजार ३ सय मतको अन्तरले विजयी भएका सुबोधलाई यसपटक पनि सुरक्षित उम्मेदवारका रूपमा हेरिएको छ।
निर्वाचन आयोगको तालिका अनुसार माघ ६ गते मनोनयन दर्ता हुनेछ। निवर्तमान सांसद भएकाले जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौती र विपक्षी दलको घेराबन्दीका बीच सापकोटाले आफ्नो विरासत जोगाउनुपर्नेछ।













