बलेफी । राष्ट्रिय स्वतन्त्र पार्टी बलेफी गाउँपालिकाका सभापति घमेश थापाले फागुन २१ मा हुने निर्वाचनलाई सामान्य राजनीतिक प्रतिस्पर्धा नभई न्याय र अन्यायबीचको निर्णायक फैसला भएको बताएका छन्।
उनले भने, “फागुन २१ को निर्वाचन कुनै साधारण चुनाव होइन। यो विगत ३५ वर्षदेखि देशलाई जकडेर राखेको गलत शासनशैलीविरुद्ध जनताले गर्ने न्यायिक फैसला हो।”

सभापति थापाका अनुसार लामो समयदेखि उही अनुहार, उही सोच र उही कार्यशैलीले राज्य सञ्चालन गर्दा देश अगाडि बढ्न नसकेको अवस्था आएको छ। “सत्ता सीमित व्यक्ति र तिनका नातागोता तथा कार्यकर्तामा केन्द्रित भयो, आपराधिक गतिविधिमाथि संरक्षण गरियो र प्रश्न उठाउनेहरूलाई प्रतिशोधको सामना गर्न बाध्य पारियो,” उनले भने।
उनले यही कारणले आजका युवाहरू स्वदेशमै भविष्य नदेखेर विदेशिन बाध्य भएको उल्लेख गरे। “कानुन कागजमा सबैका लागि समान भनिए पनि व्यवहारमा त्यस्तो छैन। गरिबका लागि नियम कडा र शक्तिशालीका लागि कानुन लचकदार बन्ने प्रवृत्तिले राज्यप्रतिको भरोसा कमजोर बनाएको छ,” थापाको भनाइ छ।
सभापति थापाले पछिल्लो समय नयाँ अनुहारप्रतिको बढ्दो आकर्षण जनआक्रोश र परिवर्तनको चाहनाको परिणाम भएको बताए। “अब जनताले नाम होइन, काम खोजिरहेका छन्। भाषण होइन, चरित्र खोजिरहेका छन्। सत्ता होइन, सेवा खोजिरहेका छन्,” उनले थपे।
उनका अनुसार फागुन २१ को निर्वाचनले इमानदार, जवाफदेही र समाजमा स्वीकार्य व्यक्तिलाई अवसर दिने कि फेरि असफल अभ्यास दोहोर्याउने भन्ने निर्णय गर्नेछ। “यो चुनावमा तटस्थ बस्ने छुट कसैलाई छैन। मौन बस्नु भनेको अन्यायलाई स्वीकार गर्नु हो,” उनले स्पष्ट पारे।
अन्त्यमा उनले नयाँ सोच, नयाँ राजनीतिक संस्कार र परिवर्तनको प्रतिनिधित्व गर्ने उम्मेदवारलाई समर्थन गर्न सबै सचेत नागरिकलाई आह्वान गरे। “फागुन २१ मा सही निर्णय गरेर न्यायको पक्षमा उभिनु नै अहिलेको सबैभन्दा ठूलो नागरिक कर्तव्य हो,” थापाले भने।






