नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिए आफूहरूले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन्। ‘संविधान र लोकतन्त्रमाथि बडारिएको कालो बादललाई साथ दिँदै निर्वाचन आयोगले नेपाली काँग्रेसको विधानविपरीत निर्णय गर्यो भने देशभर आन्दोलन गर्नुको विकल्प हुनेछैन। प्रत्येक ठाउँमा नेपाली काँग्रेस चारतारे झण्डा र रूख लिएर हामी अगाडि बढ्छौँ।’
उनले नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टी विधानले कुनैपनि प्रकारको अधिवेशन तथा महाधिवेशन आयोजना गर्ने सम्पूर्ण अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र दिएको दाबी गरे।
उनले पार्टी विधानअनुसार पार्टीका कुनैपनि पदाधिकारी वा सदस्यलाई विशेष महाधिवेशन बोलाउने अधिकार नरहेको स्पष्ट पारे। उनले गत मंसिरमै नियमित महाधिवेशन गर्ने निर्णय पार्टी समितिले गरे पनि हुन नसकेको जिकिर गरे।

आज कांग्रेसको पछिल्लो घटनाक्रमबारे जानकारी दिँदै उनले पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत उक्त चेतावनी दिएका हुन्।













