सिन्धुपाल्चोक – तेक्वान्दो खेलकुदमा उल्लेखनीय योगदान पुर्याएका प्रशिक्षक तथा खेलाडी प्रेमबहादुर भण्डारी नगद रु ३० हजारसहित सम्मानित भएका छन्।
मंगलबार लिसंखुपाखरमा आयोजित लिसंखु पाखर गाउँपालिका स्तरीय ७औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को समापन समारोहमा भण्डारीलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि, निवर्तमान प्रतिनिधिसभा सदस्य माधव सापकोटा (सुबोध) ले तेक्वान्दोमार्फत नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै भण्डारीलाई सम्मान गरेका हुन्।

सिन्धुपाल्चोक बलेफी–३ निवासी भण्डारी सन् २०४७ सालदेखि निरन्तर तेक्वान्दोमा सक्रिय रहँदै आएका अनुभवी खेलाडी तथा प्रशिक्षक हुन्।उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउँदै स्वर्ण पदकसहित विभिन्न पदकहरू हासिल गरेका छन्।
हाल भण्डारी नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष तथा काठमाडौंस्थित गोठाटार तेक्वान्दो डोजाङका संस्थापक समेत हुन्। साथै, उनी एशियाली तेक्वान्दो महासंघको युथ कमिटी सदस्यको रूपमा पनि जिम्मेवारी सम्हालिरहेका छन्।
उनलाई प्रदान गरिएको यो सम्मानलाई नेपाली तेक्वान्दो क्षेत्रको प्रेरणादायी उपलब्धि का रूपमा लिइएको छ भने नयाँ पुस्ताका खेलाडीहरूका लागि उत्साह र मार्गदर्शनको स्रोत बन्ने अपेक्षा गरिएको छ।














