काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता प्रक्रिया औपचारिक रूपमा भाँडिएको छ। रास्वपाको आकस्मिक सचिवालय बैठकमा सभापति रवि लामिछानेले एकता असफल हुनुका कारणबारे ब्रिफिङ गर्दै उज्यालो नेपाल पार्टीसँग भएको सहमति अनुमोदन नगर्ने निर्णय गरिएको जानकारी दिएका छन्।
बैठक स्रोतका अनुसार, उज्यालो नेपाल पक्षबाट बारम्बार नयाँ माग आउन थालेपछि अघि बढ्न नसक्ने निष्कर्ष निकालिएको हो। उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाहसमेत सहमत रहेको बताइएको छ।

एकता प्रक्रिया टुटेपछि उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समिति बैठक बोलाएको छ। बैठकपछि अध्यक्षको भूमिकामा चयन भएका कुलमान घिसिङसहित पत्रकार सम्मेलन गर्ने तयारी छ। दुई पक्षबीच पद बाँडफाँड र समानुपातिक उम्मेदवारको विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया विफल भएको जनाइएको छ।













