नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डको नाम आगामी निर्वाचनको लागि विभिन्न क्षेत्रबाट सिफारिस भएर आउने क्रम चलिरहेको छ।गएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका प्रचण्ड फागुन २१ को निर्वाचनमा कहाँबाट लड्ने अझै निश्चित भइसकेको छैन।
प्रचण्डलाई उम्मेदवार सिफारिस अहिलेसम्म नुवाकोट १, सिन्धुली २, रामेछाप, महोत्तरी ४, गोरखा १ रोल्पा, कैलाली ३, काभ्रे र कास्की १ बाट भएका छन्।

हिजो मात्रै पनि रुकुम (पूर्व)बाट उम्मेदवार सिफारिस भएका कैलाश मल्लसहित ७३ नेता कार्यकर्ताले रुकुम पूर्वमा प्रचण्डलाई उम्मेदवार बनाउन माग गर्दै पेरिसडाँडामा मागपत्र बुझाए। यसअघि सिफारिस भएका उम्मेदवार बदर गरी पार्टी संयोजक प्रचण्डको नाम सिफारिस गर्न उनीहरूको माग छ।
रुकुम ऐतिहासिक रूपमा दश वर्षे जनयुद्धको केन्द्र रहेको र सहिद, घाइते तथा सङ्घर्षशील जनताको भूमिका रूपमा चिनिने जिल्ला भए पनि २०६४ सालपछि निर्वाचित जनप्रतिनिधिले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेको भन्दै प्रचण्डलाई प्रतिनिधि बनाउनुपर्ने त्यहाँको नेताहरूको माग छ।
नेकपाको प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक प्रचण्डको निर्वाचन क्षेत्रबारे छलफल भइरहेको बताए। अहिलेसम्म कहाँबाट उठ्ने भन्ने तय नभएको उनले बताए।








