नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान अवस्था, राजनीति, निजी क्षेत्र र निर्वाचनबारे धारणा राखेका छन्।नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा उनले ‘स्थायित्व र समृद्धिका लागि सहकार्य’ भन्ने विषय सामयिक, अर्थपूर्ण र महत्वपूर्ण रहेको बताए।
दाहालले जेनजी आन्दोलनले राजनीतिक नेतृत्व र समाजका स्थापित संस्थालाई गम्भीर आत्मसमीक्षा गर्न बाध्य बनाएको बताए।इतिहासको मञ्चबाट पन्छिने कि नयाँ संकल्पका साथ अघि बढ्ने भन्ने प्रश्न सबैका सामु उभिएको उनको भनाइ थियो।’हामी सबैका अगाडि आफ्ना कमजोरी सच्याएर जनता र राष्ट्रको आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने कि औचित्य सकियो भनेर पन्छिने भन्ने गम्भीर प्रश्न छ,’ उनले भने।

‘देश अहिले अन्योलमा होइन, निर्वाचनको तयारी र मानसिकतामा अगाडि बढेको छ,’ उनले भने।
सिंहदरबारमा रहँदा निजी क्षेत्रसँग सहकार्य गर्दै लगानी सम्मेलनमार्फत धेरै प्रतिबद्धता जनाएको स्मरण गर्दै दाहालले निजी क्षेत्रको संरक्षण र प्रोत्साहन बिना विकास सम्भव नहुने धारणा राखे।
राज्य संरचना र सोचमा निजी क्षेत्रप्रतिको दृष्टिकोण सुधार गर्नुपर्ने उनको भनाइ थियो। संविधान बनाउँदा निजी, सार्वजनिक र सहकारी क्षेत्रलाई समेटेर नेपाली मोडेलको विकास गर्ने प्रतिबद्धता भए पनि व्यवहारमा त्यसअनुसार अघि बढ्न नसकेको उनले स्वीकार गरे।
दाहालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नु, नयाँ जनादेश प्राप्त गर्नु र संविधान संशोधनमार्फत कानुनी सीमा र कमजोरी सुधार गर्नु आजको मुख्य आवश्यकता भएको बताए। संविधान बनाउँदा १० वर्षपछि समीक्षा गरिने भनिएको र अहिले त्यो समय आएको उनको भनाइ थियो।













