काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री कुलमान घिसिङ एक भएर देश विकास पार्टी अघि बढाउने लगभग टुंगो लागेको छ।
घिसिङनिकट उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भए पनि अब दुवै जना देश विकास पार्टीमै संलग्न भएर राजनीति अघि बढाउन सहमत भएको कुलमान र बालेनसँग नजिक रहेर काम गरिरहेका स्रोतहरूले बताए।

देश विकास पार्टी निर्वाचन आयोगमा दर्ता छ। यसको अध्यक्ष सन्ध्या खनाल छिन् भने चुनाव चिह्न लौरो छ। लौरो चिह्नबाटै २०७९ को स्थानीय तह निर्वाचनमा बालेन काठमाडौंको मेयर निर्वाचित भएका थिए।
बालेन र कुलमानबीच देश विकास पार्टीबाटै प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार उठाउने सहमति पनि भएको छ र सोहीअनुसार शनिबारसम्म ११० क्षेत्रका उम्मेदवार तय गरेर पुस १३ र १४ गते निर्वाचन आयोगमा सूची बुझाउने तयारी भएको बालेन र कुलमाननिकट स्रोतले सेतोपाटीलाई जानकारी दिए।
मेयर बालेनले कुलमानसँग मात्र होइन, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष सिके राउत लगायतसँग पनि छलफल गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरू नयाँ पार्टी र स्वतन्त्र व्यक्तिहरूलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउन लागिएको उनीहरूले बताएका छन्।
‘सिके राउत, रेशम चौधरी, अमरेशकुमार सिंहलगायतसँग पनि मेयर बालेनले भेटेर कुराकानी गर्नुभएको छ,’ उनीनिकट स्रोतले भन्यो, ‘रक्षा बमलगायत जेनजी अभियानीहरूसँग पनि कुरा भएको छ। सबैलाई समेटेर देश विकास पार्टीलाई अघि बढाउने तयारी छ।’













