विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित पुरक रिटमा महामन्त्री गगन थापा पक्षका सांसदहरूले हस्ताक्षर गरेका छैनन् ।
विघटित संसद् पुर्नबहालीको मागका लागि बहुमत सदस्य पुर्याउनका लागि कांग्रेसमा हस्ताक्षर संकलन गरिएको थियो । कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्याम घिमिरेले ६५ बढी पूर्व सांसदको हस्ताक्षर गर्ने दाबी गरेका थिए । बहुमतका लागि १३८ सांसद आवश्यक पर्दछ ।

सभापति शेरबहादुर देउवा पक्षका सबैजसो पूर्वसांसदले हस्ताक्षर गरेका छन् । तर, देउवा र उनकी पत्नी आरजु राणाले भने संसद् पुर्नस्थापनाको पक्षमा हस्ताक्षर गरेका छैनन् ।
महामन्त्री गगन पक्षका पूर्वसांसदहरुले हस्ताक्षर गरेका छैनन् । महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा, पूर्वसांसदहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल, लिला बोखिम (लिम्बू), प्रतिमा गौतम, सपना राजभण्डारी, मुक्ताकुमारी यादव, सीता मिजारलगायतले हस्ताक्षर गरेका छैनन् ।
प्रतिनिधि सभा पुर्नस्थापनाको विपक्षमा रहेका नेता अर्जुननरसिंह केसीले संसद् ब्युँतिनु समस्याको समाधान नभएको बताए ।













