काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य आशिफ साहले पार्टी सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको भेटलाई ‘कथाको सुखद् सुरुवात’ को संज्ञा दिएका छन्।
सभापति लामिछाने र मेयर बालेनबीच सोमबार करिब ६ घन्टा लामो भेटवार्ता भएको थियो। उक्त भेट आशिफ साहकै निवासमा सम्पन्न भएको हो। नेताहरूका अनुसार उनीहरूबीच आइतबार र सोमबार गरी लगातार दुई दिन छलफल भएको थियो।

भेटपछिको प्रतिक्रिया दिँदै साहले सामाजिक सञ्जालमार्फत भनेका छन्,
‘अन्ततः कथाको सुखद सुरुवात भएको छ।रवि र बालेन—दुई दाजु–भाइको मिलन भएको छ।यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो।हामी सबै नेपाली लाई बधाई।
नेताहरूका अनुसार भेटमा समसामयिक राजनीति, सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र देशको भविष्य जस्ता विषयमा सकारात्मक कुराकानी भएको थियो। यद्यपि छलफलका विस्तृत विषय सार्वजनिक गरिएको छैन।
रवि लामिछाने र बालेन शाह दुवै जनतालाई वैकल्पिक राजनीतिक नेतृत्वको प्रतीकका रूपमा हेरिँदै आएका व्यक्तित्व हुन्। उनीहरूबीचको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ र यसले आगामी दिनमा नयाँ राजनीतिक सहकार्यको संकेत गर्न सक्ने चर्चा समेत सुरु भएको छ।













