नेकपा एमालेको आसन्न एघारौं महाधिवेशनका लागि प्रतिनिधि चयन टुंगिन लागेका बेला अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहतिर आकांक्षीहरू खुल्न थालेका छन्।पार्टी अध्यक्ष ओलीले भने प्रतिस्पर्धा चाहेका छैनन्। उनले सम्भावित ध्रुवीकरण र उम्मेदवारी रोक्न भक्पुरको गुन्डुस्थित आफ्नो नयाँ निवासमा बसेर केन्द्रीय सदस्यहरूलाई सूची बाँड्ने बताइरहेका छन्।
स्रोतका अनुसार गण्डकी प्रदेशका केही केन्द्रीय सदस्य अध्यक्ष ओलीलाई भेट्न मंगलबार दिउँसो गुन्डु पुगेका थिए। यसरी जानेमा केन्द्रीय कमिटीको दसौं बैठकमा अध्यक्ष ओलीलाई प्रश्न गर्नेहरू पनि थिए।आफूहरूसँगको भेटमा अध्यक्ष ओलीले यसपालि पनि आफैले सूची तयार पार्ने बताएको एक नेताले जानकारी दिए।

‘सबैलाई समेट्दै र सबैको भावनाको प्रतिनिधित्व गर्दै सूची तयार पार्छु भनेर अध्यक्षज्यूले भन्नुभयो,’ मंगलबारको भेटमा सहभागी एक नेताले ‘सबैले त्यही सूचीमा भोट हाल्नुपर्ने कुरा उहाँले राख्नुभयो।’
उनका अनुसार ओलीले क–कसलाई समेटेर कसरी सूची बनाउने भन्नेबारे विस्तारमा बताएनन्।गुन्डु पुगेका अर्का नेताका अनुसार अध्यक्ष ओलीमा अहिले आफूलाई मात्र भोट हालेर पदाधिकारीमा अन्यत्र हाल्ने हुन् कि भन्ने भय पनि देखिएको छ।
‘कतिपयले मलाई मात्र भोट हाल्छु भनेको पनि सुनेको छु,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘म सूची बनाउँछु, सबैले त्यही सूचीमा मत हाल्ने हो। मलाई मात्र होइन, सबैलाई हाल्ने हो।”मलाई मात्रै हाल्ने सोच बनाएको हो भने मलाई पनि हाल्नु पर्दैन,।
‘मत छिरलिने देखेरै ओलीले मलाई मात्र हाल्ने भए मत नहाल्नू भनेको हुनसक्छ। अध्यक्षमा ओलीलाई मत हाले पनि पदाधिकारीतर्फ मत बाँडिनसक्ने देखिन्छ। ओलीलो सूची बनाउने भनेको पनि त्यसैलाई रोक्न हो,’ गुन्डु पुगेका ती नेताले भने।













