नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार हुँदा अहिलेजस्तो खुलेआम भ्रष्टाचारको काण्डहरू नभएको दाबी गरेका छन् ।च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार पार्टीका निवर्तमान सांसदहरूको बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जेनजी आन्दोलन र सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारविरूद्ध रोष प्रकट गरेका छन्।
अहिलेको सरकार क्रान्तिबाट बन्यो, कहाँ भयो क्रान्ति? नेपालमा त प्रतिक्रान्ति भएको छ,’ उनले भने, ‘सम्पदा जलाइएको छ। मान्छे यत्रोविघ्न मरेका छन्। यो बलिदान क्रान्तिका लागि भएन। यसले देशलाई पछाडि फर्कायो। लोकतन्त्र भत्कायो। संविधान मिच्यो। र, संविधानमा नभएको मात्र होइन, संविधानले हुन्न भनेको सरकार बन्यो।’

ओलीको आरोप थियो ‘यो सरकार स्पष्टतः लोकतान्त्रिक विधि प्रक्रियाबाट निर्वाचित भएको होइन। यो भ्रम नरहोस्, सरकार कुनै जनक्रान्तिबाट बनेको होइन। यो आगजनी, तोडफोड र लुटपाटबाट बनेको सरकार हो। आगजनी, तोडफोड र लुटपाटलाई क्रान्ति, विद्रोह र आन्दोलन भनिँदैन।’
सरकार निर्माण र संसद् विघटन दुवै असंवैधानिक भएको दाबी गर्दै ओलीले अहिले बाघको छालामा स्यालको रजाइँ भइरहेको बताए।





