काठमाडौं: नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि ‘मातृभूमि जागरण अभियान’ सञ्चालन गरिरहेका वरिष्ठ नेता भीम रावल आज (बुधबार) औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्दैछन्। रावलसहितका नेताहरूलाई दिउँसो साढे एक बजे पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल सहितका नेताहरूले स्वागत गर्ने कार्यक्रम रहेको छ।
रावलसँगै एमालेका केन्द्रीय सदस्य प्रकाश शाह पनि नेपाली कम्युनिस्ट पार्टी प्रवेश गर्न लागेको उक्त पार्टीका नेताहरूले जानकारी दिएका छन्।

पार्टी प्रवेशका क्रममा रावलले सञ्चालन गरिरहेको मातृभूमि जागरण अभियानलाई समेत एकीकृत पार्टीमा समाहित गराइने भएको छ। रावलको राजनीतिक कदलाई सम्मान गर्दै उनलाई नयाँ पार्टीमा छैठौँ वरीयता दिने र पार्टीको सचिवालय सदस्यमा रहने सहमति भएको छ।
एमालेको दशौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेपछि उनीसँग रुष्ट बनेका ओलीले गत पुस १० गते रावललाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए। पार्टी नीति र नेतृत्वविरुद्ध गतिविधि गरेको आरोपमा कारबाहीमा परेपछि रावलले आफूनिकटहरूलाई समेटेर अभियान सञ्चालन गरेका थिए।













