काठमाडौं: मधेश प्रदेशमा राजनीतिक घटनाक्रमले अप्रत्याशित मोड लिएको छ। निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलको राजीनामापश्चात् प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी छन्।
अस्वस्थताको कारण देखाउँदै आइतबार (कात्तिक २३ गते) बिहान जनकपुरबाट काठमाडौं प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले लगत्तै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएको हो। प्रदेश सभामा सबैभन्दा ठूलो दलको नेताको नाताले यादव नियुक्त भएका हुन्।

यसअघि, सात दलीय गठबन्धनका नेताहरूले प्रदेश प्रमुखले ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने आशङ्का गर्दै प्रदेश प्रमुख कार्यालयअगाडि नाराबाजी समेत गरेका थिए। गठबन्धनका नेताहरूलाई प्रदेश प्रमुख भण्डारीले ‘खुल्ला र पारदर्शी निर्णय गर्ने’ भन्दै आश्वस्त पारेकी थिइन्।
तर, काठमाडौं जान हिँडेकी प्रदेश प्रमुख भण्डारीले जनकपुरस्थित होटल पानसमा एमाले नेता यादवलाई नियुक्ति दिएर शपथ गराएपछि घटनाले विवाद सिर्जना गरेको छ। घटना सार्वजनिक भएपछि निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख भण्डारीले ‘मधेशको अस्मिता समाप्त पार्ने खेल’ खेलेको भन्दै गम्भीर आरोप लगाएका छन्।













