काठमाडौं – नेपाली कांग्रेस निकट तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेयले पार्टीका महामन्त्री गगन थापालाई १० वटा प्रश्न सार्वजनिक गरेका छन्। पाण्डेयले पार्टीभित्रको अनुशासन, संगठन सुदृढीकरण र युवाप्रति उपेक्षाको विषयमा गम्भीर प्रश्न उठाएका हुन्।
पाण्डेयका १० प्रश्नहरू यसप्रकार छन्ः

प्रश्न १: महामन्त्री ज्यू!! तपाईंले बारम्बार भन्नु हुन्छ — “महाधिवेशन त हुन्छ हुन्छ।” तर तपाईं महामन्त्री भएको बेला नै नियमित महाधिवेशन किन हुन सकेन? पार्टीलाई विधानअनुसार अघि बढाउन जिम्मेवारी तपाईंको पनि थियो, होइन र?
प्रश्न २: महामन्त्रीको हैसियतमा तपाईंले पार्टीभित्रको अनुशासन, पारदर्शिता र संगठन विस्तारमा ठोस नतिजा दिनुभयो? कि भाषण र घोषणामै सीमित रहनुभयो?
प्रश्न ३: तपाईंले तानाशाही र आत्मकेन्द्रित प्रवृत्तिको विरोध गर्नुभयो। तर जब पार्टीमा त्यही प्रवृत्ति बलियो हुँदै गयो, त्यसबेला किन मौन रहनुभयो? विरोध किन केवल भाषणमै सीमित रह्यो?
प्रश्न ४: कांग्रेस सुधार नगरी मत पाउँदैन भन्ने चेतावनी तपाईंले पटक–पटक दिनुभयो। तर सुधारका ठोस कदमहरू, कार्ययोजना वा नीति–परिवर्तन किन देखिएनन्?
प्रश्न ५: कार्यकर्ताले तपाईंमा ठूलो विश्वास गरेर परिवर्तनको आशा राखेका थिए। अहिले धेरै कार्यकर्ता निराश छन्। तपाईंका अनुसार त्यो निराशाको जिम्मेवारी कसको हो — नेतृत्वको, प्रणालीको कि तपाईंहरूको पनि?
प्रश्न ६: तपाईंले “पार्टीको विधान, परम्परा र अभ्यास” टेकेर अघि बढ्नुपर्ने बताउनुभयो। तर व्यवहारमा कांग्रेसले बारम्बार त्यही सिद्धान्तको उल्लंघन गरेको देखिन्छ। त्यस रोकथाममा तपाईंको पहल के थियो?
प्रश्न ७: गुटबन्दी, असन्तुष्टि र निराशा कांग्रेसभित्र पुरानै रोग हुन्। तपाईं महामन्त्री हुँदा ती समस्याहरू किन झन् गहिरिए?
प्रश्न ८: सुधारका कुरा तपाईंको भाषणमा प्रशस्त सुन्न पाइन्छ। तर कार्यान्वयनमा शून्यता किन? के पार्टीभित्र सुधारभन्दा बढी सन्तुलन र पद–राजनीति प्राथमिकता भएको हो?
प्रश्न ९: आज कार्यकर्ताहरू भन्छन् — “गफले कांग्रेस जोगिँदैन, अब ठोस कदम चाहिन्छ।” तपाईंले अबका दिनमा पार्टी जोगाउन के ठोस कदम चाल्न लाग्नुभएको छ?
प्रश्न १०: अन्त्यमा — तपाईंको नेतृत्वमा पार्टीले पुनः विश्वास फिर्ता ल्याउने आधार के हो? कार्यकर्ताले फेरि तपाईंलाई विश्वास गर्नुपर्ने कारण के छ?




