सिन्धुपाल्चोक – बलेफी गाउँपालिका वडा नं. ८ ले वडाभित्रका सहायक तथा कृषि सडकहरूको सरसफाइ र मर्मत कार्य सम्पन्न गरेको छ। वर्षाका कारण जीर्ण बनेका यी सडकहरू वडा अध्यक्ष रमेश कुमार श्रेष्ठको सक्रियतामा मर्मत गरिएका हुन्।
वर्षायाममा सडकहरू बिग्रिएकाले स्थानीय किसानहरूलाई खेतबारीबाट बाली ढुवानी गर्न निकै समस्या भइरहेको थियो। वडा अध्यक्ष श्रेष्ठले वडा नं. ८ धान उत्पादनका लागि महत्त्वपूर्ण क्षेत्र भएको र बाली काट्ने मौसम नजिकिएकाले किसानलाई सहज बनाउन तत्कालै सडक मर्मतमा जोड दिएको बताए।

“वर्षाले गर्दा सबै सडकहरू बिग्रिएका थिए। हाम्रो वडा धान उत्पादन हुने मुख्य क्षेत्र भएकाले धान काट्ने बेलामा किसानलाई खेतबाट धान र पराल ढुवानी गर्न सहज होस् भनेर प्राथमिकताका साथ मर्मत कार्य सक्यौँ,” वडा अध्यक्ष श्रेष्ठले भने।
जीर्ण सडकहरू सफा र मर्मत भएपछि अब किसानहरूलाई धान तथा पराल ढुवानी गर्न सजिलो भएको छ। सडक सुधार भएपछि बलेफी–८ का किसानहरूले खुसी व्यक्त गरेका छन्। यस कार्यले कृषि उपजलाई खेतबाट घरसम्म ल्याउन लाग्ने समय र लागत दुवै घटाएको छ।
वडाको पहलमा भएको यो मर्मत कार्यले स्थानीय पूर्वाधार विकासमा सहयोग पुर्याउनुका साथै कृषि कार्यलाई समेत प्रोत्साहन गरेको छ।




