नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कुनै षड्यन्त्रकारीले षड्यन्त्रपूर्वक सत्ताबाट हटाए पनि पार्टी जनताको हृदयमा रहेको बताएका छन्।
बिहीबार गुण्डुमा एमाले भक्तपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पार्टीले लिएका नीति र गरेका कामले एमाले जनताको हृदयमा बसेको बताए।

‘अहिले सरकारबाट बाहिरिएका छौं। तर जनताको हृदयमा अहिले पनि नेकपा एमाले छ। कसैले पनि नेकपा एमालेलाई जनताको हृदयबाट अलग गर्न सक्दैन। कुनै षड्यन्त्रकारीको षड्यन्त्रले होला सरकारबाट हामी हट्नु पर्यो। हामीले गरेका कामहरूका कारणले जनताको मनमष्तिस्कमा हामी जनताको हृदयमा बसेका छौं,।
पृथ्वी नारायण शाहका पालामा सत्रु राज्यमाथि विजय हासिल हुँदासमेत जीवित रहेका सम्पदा गत भदौ २४ गतेको प्रदर्शनमा आक्रमण गरिएको उनले बताए।
‘सत्रु राज्यमाथि विजय हासिल गर्दा स्वाभाविक रूपमा आवेश र उत्तेजना हुनसक्छन्, त्यतिबेला पनि हाम्रा सम्पदा जीवित रहेको इतिहास छ। मुक्ति सेनाले राणा शासनविरूद्ध लड्दा पनि सम्पदाहरूमा क्षति पुर्याइएन, हामीले देखेको कुरा हो, सशस्त्र आन्दोलनमा पनि यस्तो तोडफोड, आगजनी भएन।
माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वको समयमा उल्लेख्य मात्रामा क्षति पुर्याउने काम भए पनि १० वर्षको अवधिमा उक्त क्षति भएको उनले बताए।




