काठमाडौं । नेकपा (माओवादी केन्द्र) का पूर्वअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र आगामी निर्वाचनमा सक्रियताका साथ सहभागी हुने बताएका छन्।
सोमबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले निर्वाचन घोषित मितिमै हुनुपर्ने पक्षमा पार्टी रहेको स्पष्ट पारे।

‘घोषित मितिमा निर्वाचन हुनुपर्छ र सबै राजनीतिक दल सहभागी हुनुपर्छ भन्ने हाम्रो धारणा हो,’ दाहालले भने, ‘हाम्रो पार्टी सक्रियताका साथ निर्वाचनमा भाग लिनेछ र अघि बढ्नेछ।’
उनका अनुसार चुनावमा सहभागी हुने विषयमा अन्य राजनीतिक दलहरूसँग पनि संवाद भइरहेको छ। ‘अन्य दलहरूसँग निरन्तर कुराकानी भइरहेको छ, केही समयपछि त्यसको परिणाम देखिन्छ भन्ने मलाई लाग्छ,’ उनले बताए।
सचिवालय बैठकमा देशभर मनसुनजन्य विपद्ले पुर्याएको क्षति र त्यसका प्रतिकारका लागि गर्नुपर्ने कामबारे पनि छलफल गरिएको दाहालले जानकारी दिए।
‘विपद्ले कहाँ कति क्षति पुर्यायो भन्ने विवरण संकलन भइरहेको छ,’ उनले भने, ‘हामी कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय समितिले निर्णय गरिसकेको छ।’













