काठमाडौँ – जेनजी आन्दोलनको दमनमा जिम्मेवार रहेको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै सामाजिक सञ्जालमा व्यापक अभियान सुरु गरिएको छ।
जेनजी अभियन्ताहरूको आह्वानमा हाल सामाजिक सञ्जालमा #ARRESTKPOLI, #ARRESTRAMESHLEKHAK र #ARRESTMURDERERS जस्ता ह्याशट्याग ट्रेन्ड भइरहेका छन्।

अभियानका क्रममा सार्वजनिक गरिएको एउटा पोस्टरमा ओली र लेखकको तस्बिर प्रयोग गर्दै उनीहरूलाई ‘हत्यारा’को रूपमा चित्रण गरिएको छ। पोस्टरमा ‘हत्या गर्नेहरूलाई पक्राउ गर्नुहोस्, नत्र कदम चाल्न बाध्य हुनेछौँ’ भन्ने चेतावनीपूर्ण सन्देश लेखिएको छ।
‘हामी नेपाल’ अभियानका संयोजक सुदन गुरुङले पनि उक्त पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै दुवै नेतालाई पक्राउ गर्न दबाब दिन ट्रेन्ड चलाउन आह्वान गरेका छन्।
जेनजी आन्दोलन दबाउनमा उनीहरूको संलग्नता रहेको दाबी गर्दै यसअघि नै ओलीलगायतका केही व्यक्तिलाई राजधानीबाहिर जान रोक लगाइएको थियो।













