नेकपा (एमाले) सचिवालय बैठक सुरू भएको छ।
दिउँसो २ बजेदेखि भक्तपुरको गुण्डुमा बैठक सुरू भएको हो।

आजको बैठकमा भदौ २३ र २४ गतेको आन्दोलनको गम्भीर समीक्षा हुने एमालेका नेताहरूले बताएका छन्। जेन–जी विद्रोहबाट सत्ताच्युत भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर नेपाली सेनाको ब्यारेकमा गएका थिए।
गत असोज २ गते मात्रै उनी ब्यारेकबाट फर्किएका थिए।
स्रोतका अनुसार उनी ब्यारेमै छँदा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठक बोलाउन माग गरेका थिए। अध्यक्ष ओली निस्कन केही ढिलाइ हुने भएकाले बैठक बोलाएर परिस्थितिबारे छलफल गर्ने र धारणा बनाउने उनको जोड थियो।
तर ओलीले आफू नआइ बैठक नराख्ने बताएका थिए।
गुण्डु डेरा सरेपछि पनि ओलीले बैठक राख्न आनाकानी गरेपछि नेताहरूले भेटेरै छलफलको माग गरेका थिए। यसबीचमा अध्यक्ष ओलीले सचिवालय तहकादेखि जनसंगठनसम्म नेता कार्यकर्तालाई निवासमै बोलाएर आफ्ना कुरा भन्ने, परिस्थितिबारे आफ्नो धारणा सुनाउने गरेका थिए। ती छलफलमा उनले आफू नेतृत्वको सरकार र देशविरूद्ध गम्भीर षड्यन्त्र भएको र त्यसको प्रतिवाद गर्नुपर्ने बताएका थिए।













