काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति भएको छ। शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा दलहरूबीच समझदारी जुटेको हो।
शीतलनिवास स्रोतका अनुसार प्रारम्भमा कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि मात्र संसद् विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल आन्दोलनकारी दबाबपछि पछि हटेका हुन्।

युवाहरूले शीतलनिवास घेराउने चेतावनी दिएपछि पौडेलले प्रमुख दलका नेताहरूसँग छलफल गर्दै प्रतिनिधिसभा विघटन गर्ने र त्यसलगत्तै कार्कीलाई प्रधानमन्त्रीमा शपथ गराउने तयारी अघि बढाएका हुन्।
हाल शीतलनिवासमा संसद् विघटनको निर्णय मस्यौदा र कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने पत्र तयार गर्ने प्रक्रिया भइरहेको स्रोतले जनाएको छ।













