काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार गरेका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उक्त प्रतिबन्ध हटाउनुपर्ने प्रस्ताव गरे पनि प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गरेका हुन्।
बैठकमा मन्त्री पौडेलले “जेनजी” (Gen Z) को आन्दोलन चर्किएको अवस्थामा सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्धलाई निरन्तरता दिनु उचित नहुने धारणा राखेका थिए। उनले कांग्रेसको तर्फबाट पनि यस विषयमा जोडतोडले आवाज उठिरहेको बताएका थिए।

तर, प्रधानमन्त्री ओलीले भने सरकारको निर्णय सही भएको भन्दै यसमा पुनर्विचार गर्न नसकिने अडान राखे। उनले जेनजीको आन्दोलनमा “घुसपैठ” भएको र केही तत्त्वहरूले अराजकता मच्चाउन खोजेको आरोप लगाए। “यस्ता अराजक तत्त्वहरूको चाहना पूरा हुन दिइँदैन,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्रीको यो अडानसँगै सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तत्काल हट्ने सम्भावना कम देखिएको छ। सरकारले यसअघि सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै प्रतिबन्ध लगाएको थियो। यस निर्णयको जनस्तरबाट र राजनीतिक दलहरूबाट पनि विरोध हुँदै आएको छ।













