काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिने निर्णय गरेका छन्। सोमबार साँझ बसेको नेपाली कांग्रेस पदाधिकारी बैठकमा उनले यसबारे जानकारी गराएका हुन्।
बैठकमा सहभागी एक नेताका अनुसार गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिन लागेको बताएका छन्। “यति धेरै मान्छे मरे, मैले नैतिकता देखाउनुपर्छ, म राजीनामा दिन्छु,” बैठकमा उनले बताएका थिए।

जेनजी पुस्ताले सुरु गरेको आन्दोलन उग्र बनेपछि सोमबार बिहानदेखि देशभर तनाव फैलिएको थियो। सरकारी दमनसँगै विभिन्न स्थानमा भएका झडपमा १९ जनाको मृत्यु भएको छ।
मृत्युसंख्या बढ्दै गएपछि बढ्दो जनआक्रोश र राजनीतिक दबाबका कारण गृहमन्त्री लेखकले राजीनामा दिने निर्णय गरेका हुन्।













