प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय सतर्कता केन्द्रको २४ औं स्थापना दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए।

भ्रष्ट आचरण र पथभ्रष्ट भएका व्यक्ति छन् भने पदासिन भएपनि तिनले मनदेखि अरुको सम्मान नपाउने उनको भनाइ थियो ।
उनले भने, ‘विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस् । देखिएका कुरा यस्तै बैठकमा आएर खुलस्त भन्नुस् । मेरै (प्रधानमन्त्रीकै) कमजोरी देखिए पनि आएर भन्नुस् । मेरो नाम भजाएर कसैले गलत काम गराउन खोज्न भने त्यस्तो काम नगर्नुस्, झपारेर पठाउनुस् । आफूभन्दा मातहतका मानिस वा सार्वजनिकरुपमा गिर्ने गरी कुनै काम नगर्नुस् । अरुको आँखाबाट नझर्नुस् । आफ्नो आँखाबाट पनि नझर्नुस् । त्यसो गरेर सुशासनलाई सघाउनुस् ।’













