सिन्धुपाल्चोक, बाह्रबिसे–३ धारपाका झरना योञ्जन र उनका छोरा अंकित योञ्जनले एसियन पावरलिफ्टिङ च्याम्पियनसिप २०२५ मा एउटै प्रतियोगी टोलीमा प्रतिनिधित्व गर्दै दुर्लभ कीर्तिमान कायम गर्न लागेका छन्।
एउटै अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आमा र छोरा सँगै प्रतिस्पर्धा गर्ने घटना एशियाली मञ्चमा पहिलोपटक देखिन लागेको हो। नेपाल पुलिस क्लब, काठमाडौँमा साउन ३० देखि भदौ १ गतेसम्म हुने प्रतियोगितामा अंकितले यूथ (१८ वर्ष मुनि) समूहमा प्रतिस्पर्धा गर्ने छन् भने झरनाले ५८ केजी महिलातर्फ सहभागिता जनाउने छिन्।
गत बागमती प्रदेश स्तरीय प्रतियोगितामा पनि दुवैले उत्कृष्ट प्रदर्शन गरेका थिए—अंकित पहिलो र झरना दोस्रो स्थानमा रहेकी थिइन्। विभिन्न राष्ट्रिय प्रतियोगितामा पदक जितिसकेकी झरनाले यो अन्तर्राष्ट्रिय अवसरलाई पदक जित्ने लक्ष्यसहित लिएको बताउँछिन्।
एनवाइएफसी नेपाल र वर्ल्ड पावरलिफ्टिङको सहकार्यमा आयोजना हुने यस च्याम्पियनसिपमा एसियाका शीर्ष खेलाडीहरू प्रतिस्पर्धा गर्दैछन्। प्रतियोगिता यही साउन ३०, ३१ र भदौ १ गते काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजना हुँदैछ।
आमा-छोराको यो सहभागिता नेपाली खेलकुद इतिहासमै प्रेरणादायी उदाहरणका रूपमा रहेको छ।













