सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–३ मा जन्मिएका प्रेम भण्डारी, नाम साधारण लाग्न सक्छ, तर उनको जीवनको कथा असाधारण छ। सन् १९७४ (वि.सं. २०३१) मा जन्मिएका भण्डारी सानैदेखि खेलकुदप्रति रुचि राख्थे। उनले पोखराको एउटा होटलमा काम गरिरहँदा तेक्वान्दोप्रतिको मोहले उनलाई नयाँ मोडमा डोर्यायो। आर्थिक अभावबीच पनि उनले आफ्नो सपना पछ्याउन छाडेनन्।
बि.सं. २०४७ मा सुरु भएको तेक्वान्दो यात्रा आज सयौं युवाहरूको प्रेरणाको स्रोत बनेको छ।२०५४ सालमा यो खेल जिल्लामा भित्र्याएर दर्जनौं खेलाडी उत्पादन गरेका छन्।उनको योगदानले जिल्लाका थुप्रै खेलाडीहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल भएका छन्।

उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी मात्र नभई एक सक्षम प्रशिक्षकसमेत हुन्। हाल काठमाडौंको काडाघारीस्थित बिरेन्द्रचोकमा आफ्नै लगानीमा स्थापना गरेको ‘गोठाटार तेक्वान्दो डोजाङ’मार्फत प्रशिक्षण दिइरहेका भण्डारी तेक्वान्दोको माध्यमबाट समाज परिवर्तन र युवा सशक्तीकरणमा सक्रिय छन्।
उनले जिल्लाबाट राष्ट्रिय, अनि राष्ट्रियबाट अन्तर्राष्ट्रिय मञ्चमा पुगेर नेपालको नाम चम्काए। जोर्डनमा सम्पन्न विश्वस्तरीय तेक्वान्दो डेमो कार्यक्रमको झल्को नेपालमै ल्याउँदै उनले लामोसाँघुमा नेपालकै पहिलो डेमो इभेन्ट आयोजना गरे, जुन आफैंमा ऐतिहासिक थियो।
धेरै देश, धेरै उपलब्धि, एउटै समर्पण
प्रेम भण्डारी आज नेपालका छैटौं डान (Dan) प्राप्त अन्तर्राष्ट्रिय कोच मात्र होइनन्, उनी राष्ट्रिय रेफ्री र सम्मानित प्रशिक्षक पनि हुन्। सातौँ डान (Dan) को तयारीमा रहेका भण्डारीको नेपालको तेक्वान्दो क्षेत्रमा योगदान अतुलनीय छ। सन् २०१७ मा दक्षिण कोरियामा भएको ११औँ विश्व कल्चर एक्स्पोमा उनले फाइट र पुम्से दुवै विधामा रजत पदक जिते। त्यसपछि २०१८ मा फाइटमा स्वर्ण र पुम्सेमा रजत तथा २०१९ मा फाइटमा रजत पदक प्राप्त गरे।
भुटानमा भएको दोस्रो, तेस्रो र चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक र पाँचौँ प्रतियोगितामा रजत पदक जितेका भण्डारीले थाइल्यान्ड, मलेसिया, मकाउ, हङकङ, सिङ्गापुर, बङ्गलादेश, कम्बोडिया, जापान, चाइना र भारत लगायतका धेरै देशहरूमा विभिन्न पदकहरू जित्न सफल भएका छन्।
हाल नेपालमा एक उत्कृष्ट प्रशिक्षकको भूमिकामा रहेका भण्डारीले हजारौँ खेलाडी उत्पादन गरिसकेका छन्। उनी देशभरका युवायुवतीहरूबीच ‘प्रिय र मनकारी गुरु’ को उपनामले चर्चित छन्। आफूले भोगेका दुःखहरू आफ्ना खेलाडीले भोग्न नपरोस् भन्ने भावना राख्ने भण्डारी खेलाडीलाई परेको आपत-विपतमा सधैँ सहयोग गर्न तयार रहन्छन्।
‘गोठाटार तेक्वान्दो डोजाङ’, अनुशासनको पाठशाला
आज उनी काठमाडौंको गोठाटारमा ‘गोठाटार तेक्वान्दो डोजाङ’ सञ्चालन गरिरहेका छन् – त्यो पनि आफ्नै लगानीमा। यो डोजाङ केवल तालिम दिने स्थान होइन, अनुशासन, आत्मबल र आत्मरक्षाको पाठशाला बनेको छ। उनले देशका विभिन्न जिल्लाबाट आएका तेक्वान्दो खेलाडीहरूलाई जोड्दै, मनोबल बढाउँदै, सम्मान गर्दै अगाडि बढिरहेका छन्।
सरकारी सहयोगको अभाव, तर उत्साहमा कमी छैन
सपना सजिलो हुँदैन, र सरकारी समर्थनको कमीले प्रेम भण्डारीका धेरै योजना अधुरै छन्। तर उनी थाकेका छैनन्। उनी आफ्नै प्रयासमा तेक्वान्दोको बीउ गाउँमा रोपेर आज देशभर फैलाइरहेका छन्।
उनले देखाएका छन् : परिवर्तन शहरबाट मात्र होइन, गाउँबाट पनि सुरु हुन सक्छ। खेलकुद आत्मरक्षा मात्र होइन, जीवनको अनुशासन र मूल्य पनि हो–जुन उनी आजका पुस्तालाई सिकाइरहेका छन्।
युवाहरूमाझ लोकप्रिय भण्डारीलाई उत्कृष्ट कार्य गरेको भन्दै नेपाल तेक्वान्दो संघको सिफारिसमा एसियन तेक्वान्दो युनियन युवा समितिको सदस्यबाट सम्मानित गरिएको छ। सरकारी सुविधा वा कुनै सङ्घ-संस्थाबाट सहयोग नपाए पनि विगत २८ वर्षभन्दा बढी समयदेखि स्वयंसेवक प्रशिक्षकको रूपमा निरन्तर काम गर्दै आएका भण्डारी आफूलाई सबैभन्दा खुसी व्यक्ति मान्छन्।
उनको ‘सुसंस्कार सहितको तेक्वान्दो-आजको आवश्यकता’ भन्ने नाराले खेलकुदलाई आत्मरक्षा र अनुशासनसँग जोडेको छ।प्रेम भण्डारीजस्ता व्यक्तिहरूले ठूलो सपना देख्नुभन्दा त्यसलाई पूरा गर्ने आँट, मेहनत र समर्पण महत्त्वपूर्ण हुन्छ भन्ने प्रमाणित गरिदिएका छन्। उनको कथाले सम्भावनाहरू आफ्नै गाउँमा हुन्छन् र परिवर्तन आफैंबाट सुरु गर्न सकिन्छ भन्ने प्रेरणा दिन्छ।




