नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीसँगको एकता प्रक्रिया सकारात्मक भएको बताएका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता प्रक्रिया सकारात्मक भएको ब्रिफिङ गरेका हुन् ।
समाजवादी मोर्चालाई थप प्रभावकारी बनाएर लैजाने विषयमा नेताहरूसँग निरन्तर छलफल भइरहेको जानकारी दिँदै उनले मोर्चामार्फत छलफल अगाडि बढाउँदै पार्टी एकता गर्न सकिने बताएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।

‘समाजवादी मोर्चालाई थप सक्रिय बनाउने धारणा राख्नुभयो । एकीकृत समाजवादीसँग एकता सकारात्मक भएको जानकारी गराउनु भएको छ । पूर्वप्रधानमन्त्री माधव नेपालसँगको दुई चरणको छलफल सकारात्मक भएकाले छिट्टै पार्टी एकता गर्ने विषयमा सकारात्मक भएको छ । विप्लवसँग पनि पार्टी एकताका लागि अगाडि विषयमा पहल भइरहेको जानकारी गराउनुभयो’ प्रचण्डको भनाई उदृत गर्दै गजुरेलले भने ।













