काठमाडौंको तारकेश्वर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव तीव्र रूपमा बढिरहेको छ। संघीय सांसद शिशिर खनालको प्रभाव क्षेत्र मानिने यस नगर क्षेत्रमा पछिल्लो समय नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता–कार्यकर्ताले पार्टी परित्याग गरी रास्वपा रोज्न थालेका छन्।
शनिबार वडा नं. १० का पूर्व वडाध्यक्ष अमृत थापाले एमाले परित्याग गरी रास्वपा प्रवेश गरेका छन्। शुभकामना चोकमा आयोजित कार्यक्रममा सांसद खनालले थापालाई पार्टीको झण्डा र ब्याच लगाई स्वागत गरे। उनलाई पार्टीको जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। त्यस्तै, वडा नं. ९, १० लगायतका अन्य वडाबाट पनि विभिन्न दलका कार्यकर्ता तथा स्वतन्त्र नागरिकहरूले सामूहिक प्रवेश गरेका छन्।

नगर प्रमुख र उपप्रमुखबीचको विवाद, प्रशासनिक जटिलता र कार्यालयमा तालाबन्दी जस्ता कारण कामकाज ठप्पजस्तै भएकाले स्थानीयहरूमा वैकल्पिक शक्तिप्रति आकर्षण बढेको बताइएको छ। स्थानीय नेताहरूका अनुसार रास्वपाको साप्ताहिक कार्यक्रममार्फत थप सदस्यता विस्तारको तयारी भइरहेको छ।
सञ्चारकर्मी सुशान्त न्यौपानेका अनुसार वर्तमान असन्तुष्टि र रास्वपाको सक्रियताका कारण आगामी स्थानीय चुनावमा तारकेश्वर रास्वपाको बलियो किल्ला बन्ने सम्भावना देखिएको छ।








