उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने र एमाले पार्टीको सदस्यता पनि नवीकरण नहुने स्पष्ट पारेका छन्।
नेकपा एमालेका उपाध्यक्ष समेत रहेका पौडेलले गणतान्त्रिक मुलुकको राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आएर एउटा पार्टीको मात्र सदस्य बन्ने नभई पूर्व राष्ट्रपतिको सम्मानमा बस्नुपर्ने बताएका हुन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रूपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पौडेलले एमालेको उपाध्यक्ष रहेको बेला पार्टीकै सिफारिसबाट भण्डारी राष्ट्रपति बनेको उल्लेख गर्दै अब पूर्वराष्ट्रपतिको हैसियतमा मुलुकको अभिभावक बनेर बस्नुपर्ने बताए।
संविधानको रक्षा र संरक्षणको अभिभारा लिइसकेको व्यक्ति फेरि एउटा पार्टीको सदस्य बनेर राजनीतिमा फर्किनुहुँदैन भनेर नै पार्टीले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको पनि पौडेलले बताए।
पौडेलले राष्ट्रपति बनेपछि भण्डारी आफैले पार्टी सदस्यता त्याग गरेकोले पार्टीको विधानले समेत उनको सदस्यता नवीकरण गर्न नमिल्ने दाबी गरे।













