प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा भित्र्याउने विषयमा पार्टीले छलफल गर्नुपर्ने बताएका छन् । भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसक्ने उनले स्पष्ट शब्दमा बताए ।
पत्रकार विजयकुमारलाई दिएको एक अन्तर्वार्तामा ओलीले आफूसँग भण्डारीले अहिलेसम्म एमालेमा फर्किनेबारे कुनै सल्लाह नगरेको दाबी गरे ।

भण्डारीको विषयमा एमालेले औपचारिक निर्णय गर्छ भन्ने प्रश्नमा ओली भन्छन्, ‘निर्णय त गर्नैपर्छ । उहाँले प्रश्न उठाएपछि र म आउँछु भनेपछि उहाँले आउनु हुन्छ कि हुँदैन, नैतिकरूपमा हुन्छ कि हुँदैन, गणतन्त्रमा, समाजमा, राजनीतिमा, व्यवस्थामा र स्वयं उहाँको जीवनमा यसले के असर पर्छ, यी सबै कुरा सोचेर उहाँलाई दिनुपर्ने सुझाव वा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्छ नै ।’
कहिलेसम्ममा निर्णय गर्छ भन्ने प्रश्नमा ओलीले ठोस जवाफ दिएनन् ।













