काठमाडौँ- काठमाडौँमा आयोजित भव्य साहित्यिक कार्यक्रममा सामाजिक अभियानी तथा लेखक शान्ति नीहारीकाको पहिलो उपन्यास ‘चट्याङको मूर्च्छना’ सार्वजनिक गरिएको छ।
दीपश्री क्रिएटिभ मिडियाको प्रकाशनमा आएको यो कृति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेद्वारा विमोचित गरिएको हो।

लेखक नीहारीकाले उपन्यासमा समाजभित्र देखिएका, सुनेका र आफैंले अनुभूत गरेका यथार्थहरू समेटिएको बताएकी छन्।
विमोचनसँगै साँझा चौतारीद्वारा आयोजित टिकटक लाइभ प्रतियोगिताका विजेता सानु लामा, सुमी जिम्बा, नेमो प्रधान, अशोक लामा र अनु न्यौपानेलाई सम्मान गरिएको थियो।
उपन्यास निर्माणमा योगदान पुर्याउने सम्पादक शिव शर्मा, डिजाइनर बिनोद बिम्बित र व्यवस्थापक आँचल कुमार शर्मालाई पनि सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा गायक प्रदीप देवानको सभापतित्वमा पूर्व मुख्य सचिव डा. भोजराज घिमिरे, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, साहित्यकार घनेन्द्र ओझा, डा. रेणुका सोलु, संगीतकार सन्तोष श्रेष्ठ र पत्रकार रोहित भण्डारी लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।













