प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दक्षिण एसियामै लगानीका लागि सबैभन्दा अनुकूल वातावरण भएको देशमध्ये एक भएको बताएका छन् । स्पेनका लागि नेपाली दूतावास र स्पेन उद्योग वाणिज्य सङ्घले आयोजना गरेको नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँगको छलफलका क्रममा उनले स्पेनी व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आह्वान समेत गरे ।
प्रधानमन्त्री ओलीले राजनीतिक स्थायित्व, खुला बजार नीतिहरू, प्रतिस्पर्धी श्रम शक्ति र लगानी सुरक्षाका विधेयकहरूले नेपाललाई अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि आकर्षक गन्तव्य बनाएको उल्लेख गरे । नेपालले समावेशी आर्थिक रूपान्तरणलाई प्राथमिकता दिएको र निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख इन्जिनका रूपमा स्वीकार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो ।














