नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झांक्रीले पार्टीको नेतृत्व फेर्नुपर्ने बताएकी छन्।
शनिबार पार्टीको भ्रातृ संगठन युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले नेतृत्वमा संवैधानिक संकट आएकाले फेर्नुपर्ने बताएकी हुन्।

‘पार्टीमा संकट छ। अध्यक्षकै बारेमा संकट आयो। अब के गर्ने? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। संकट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौं। कसरी गर्ने?,’ उनले भनिन्।
झांक्रीले अर्ली महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने बताइन्।
‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।
उनले नयाँ ढंगको प्रस्थानबिन्दु अर्ली महाधिवेशन नै रहेको बताइन्।













